अस्पताल जानुअघि प्रधानमन्त्रीको भिडिओ सन्देश- राम्रो खेलाडीले बीचमा मैदान छोडेर जान्न

शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन्।

उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्।

प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन। आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन्,‘यो सजिलै हुने मेरो विश्वास छ।’

आफूले नेपालीका मुर्छित सपनाहरू जागृत गरेको भन्दै ती सपनाहरूलाई बीचमै छोडेर आफू अलप नहुने बताए।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी होइन। हाम्रा जागृत सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरू बुझ्नु नै भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्।

आफूले कहिले निरंकशुताविरूद्ध, कहिले राष्ट्रियता र कहिले स्थायित्व नचाहने शक्तिसँग संघर्ष गर्दागर्दै शरीरभित्र विकसित भएका विविध रोगको उपचार गर्न बाध्य भएको ओलीको भनाइ छ।

उनले आफ्नो उपचार सफल हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन्।

‘केही दिनको अस्पताल बसाइँ र आरामपछि नयाँ ऊर्जा लिएर काममा फर्किनेछु। यसबीचमा सरकारका सबै काम अघि बढ्ने छन्,’ प्रधानमन्त्रीले भनेका छन्,‘कोरोनाको नयाँ समस्यासँग जुध्न पनि संयन्त्र मिलाएको छु। आवश्यक पर्दा सबै निर्णय गर्न सक्ने प्रबन्ध गरिएको छ।’

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया