देउवाको प्रश्न: गोकुल बाँस्कोटाले राजीनामा दिएको साता दिन वित्दा पनि किन छानविन हुँदैन ?

प्रमुख प्रतिपक्षी दलका सभपति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै देउवाले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले राजीनामा दिएको हप्ता दिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुका पछाडी गम्भीर नियत लुकेको बताएका हुन् ।देउवाले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।

‘हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन् ? हामी भित्र को–को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस्’, देउवाको माग छ । छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भनेर प्रश्न समेत गरे । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलीको विश्वसनियता कमजोर भएन् ?’ देउवाको प्रश्न छ ।

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाएका छन् । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ ।

टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’ देउवाको प्रश्न छ । उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए ।

उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे । सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्ेलख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्व तयारीलाई तिव्रता दिनुपर्ने देउवाले बताए । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्माओली भने अनुपस्थित थिए । संसदीय मान्यताअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा उपस्थित भएनन् ।

प्रतिक्रिया