बच्चा बाेकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरकाे जिम्मेवारी खाेसियाे

बच्चा बोकेकी एक महिलालाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ ।

सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी एक महिलालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो ।
पौडेल महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वमा कार्यरत थिए । उनलाई नेतृत्वबाट हटाएर सट्टामा नयाँ इन्स्पेक्टर पठाइएको जनाइएको छ ।

भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना भएको थियो । त्यसलगत्तै प्रहरीले छानबिन थालेको बताएको थियो । जिम्मेवारीबाट हटाइएका पौडेलको सट्टामा प्रहरी निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिइएको हाे ।

के थियाे घटना ?

घटना भैंसेपाटीको हो । नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री भनिने (हेम थापा)बाट एकजना महिलाले आफू पीडित रहेको दाबी गर्दै खत्रीको घर अगाडि धर्ना दिँदै आएकी थिइन् । पूर्व जर्नेल हेम खत्रीकी श्रीमती भएको दाबी गर्ने महिला हुन् माला साह ।

यसै विषयमा मालाले महिला आयोगमा उजुरी दिएकी थिइन् । महिला आयोगले हेम खत्रीलाई उपस्थित गराइदिन भन्दै केहि दिन अगाडि महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठायो ।

तर, हेम खत्रीले ई–मेल लेखेर महिला आयोगमा आफैं उपस्थित हुने बताए पनि अहिलेसम्म सम्पर्कमा नआएको महिला आयोगको भनाइ छ । यसरी महिला आयोगको पत्रको वेवास्ता गरेपछि माला साह आफै महिला अधिकारकर्मीको सहयोगमा विहीबार हेम खत्रीको घर घेराउ गर्न पुगेकी थिइन् ।

सोही महिला अधिकारकर्मीको समूहमा आफ्नो बच्चासहित हेमा श्रेष्ठ पनि थिइन् । घटनास्थलमा पुगेको महानगरीय प्रहरी प्रभाग बुङमतिको टोलीले ‘लोकेशन क्लियर’गर्ने क्रममा बच्चा बोकेकी हेमा श्रेष्ठलाई पछाडिबाट लाठी चार्ज गरेको हो । साे क्रममा धर्ना दिन पुगेका महिलाहरू भागे, बच्चा बाेकेकी एक महिला पनि भाग्ने क्रममा लाठीकाे सिकार भइन् । यसरी खान पुगेकी ती महिला थिइन्हेमा श्रेष्ठ, उनी माला साहका लागि न्याय माग्ने अभियानमा संलग्न थिइन् ।

प्रतिक्रिया