मेरो नाममा उजुरी हालेको छ भने त्यो भ्रष्ट उजुरी हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा अख्तियारमा भ्रष्टाचार गरेको भन्दै उजुरी हाल्नु भनेको उजुरी नै भ्रष्ट भएको बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बागमती प्रदेशका अगुवा कार्यकर्ताको राजधानीमा भएको प्रशिक्षण कार्यक्रममा आफूले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछाड्ने अभियान चलाएको समयमा आफ्नाविरुद्ध अख्तियारमा मुद्दा हाल्नु भनेको उजुरी आफैँमा भ्रष्ट भएको बताए ।

पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले बाँस्कोटामाथि बित्थाको आरोप लगाएको बताए । उनले भने, ‘टेप प्रकरण अनधिकृत हो तर पनि अरूले लगाएको आरोपमा हाम्रा साथीहरूले होमा हो मिलाउँछन् ।’

उनले आफ्नो सरकारको र बाँस्कोटाको धेरै समय बचाउ गरेका थिए । उनले आफ्नो कुनै मिडिया नभएको र भएका मिडिया पनि आफ्नै नेता र पार्टीको बदनाम गर्ने काममा लागेका बताए ।

उनले भने, ‘पार्टीको कुनै मिडिया छैन । नेताहरूले चलाएका मिडिया आफ्नै नेता र पार्टीका विरुद्ध समाचार लेख्छन् । यिनको हिसाब किताब हुन्छ ।’

आफ्नै नेतामाथि भ्रष्टाचारको आरोप लाग्दा बचाउ नगर्ने उल्टै क्या मजा आयो भन्दै बोल्ने गरेकामा असन्तुष्टि पनि व्यक्त गरे । उनले नेताहरूको चरित्र हत्या गर्न सामूहिक प्रयास भइरहँदा पनि कुनै नेताका मिडियाले बचाउ नगरेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘अरू पार्टीकाहरू भ्रष्टहरूलाई समातेर जेल हाल्दा संसद अवरुद्ध गर्छन् । माइतीघरमा विरोध प्रदर्शन गर्छन् । हाम्राहरू आरोप लाग्दा पनि क्या गजब भयो भन्दै खुसी हुन्छन् ।’

उनले आफ्नो जन्मदिनमा काटेको केकको विरोध गर्नु कुनै तुक नभएको बताए । उनले भने, ‘कांग्रेसले केकमा राष्ट्रवाद खोज्यो । पत्रकारले जनताले विकास हुँदा बाजागाजा बजाएर केक काटेको, नाचेको समाचार लेख्दैनन् । कसले केक बोकेर गयो, कसले कति जनालाई भात खुवायो भनेर लेख्छन् ।’

उनले आफ्नो जन्मदिन मनाउँदा विरोध गर्नुअघि युट्युब खोलेर संसारभरको प्रचलन हेर्न आग्रह गरे ।

प्रतिक्रिया