भारतीय स्वास्थ्य विभागका एक अधिकारीका अनुसार दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बितेका चार दिनमा दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसाबाट २ सय मानिस घाइते भएका छन् ।
दिल्लीको गुरु तेगबहादुर अस्पताल (जिटिबी) मा ३० जना र लोक नायक जय प्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई जनाको मृत्यु भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार हिंसाग्रस्त इलाकाको निरीक्षण गरेर स्थानीयसँग छलफल पनि गरेका थिए ।
संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफन डुजरिकले भारतको राजधानी दिल्लीमा भइरहेको घटना अत्यन्त दु:खद भएको बताएका छन् । भारतमा केही समय अगाडि पारित भएको नागरिकतासम्बन्धी कानुन विभेदकारी भएको भन्दै प्रदर्शन हुँदै आएको छ । दिल्लीमा यतिबेला आइतबारदेखि प्रदर्शन सुरु भएको थियो ।
प्रदर्शनकै क्रममा कानुनका पक्ष र विपक्षमा रहेका मानिसहरुबीच झडप भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति र सद्भाव कायम राख्न सबै नागरिकसँग अपिल गरेका छन् ।