केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने, निक्षेप संकलन उपकरण जारी
काठमाडौं – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पुनः तरलता खिच्ने निर्णय गरेको छ। बुधबार (पुस १७) का लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ प्रणालीबाट निकाल्न लागेको हो।
राष्ट्र बैंकले बैंकहरूलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमाभन्दा बाहिर पुगेपछि यो कदम उठाइएको हो।
तरलता खिच्न चाहने बैंकहरूले आज मध्यान्ह २ बजेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँको आवेदन दिन सकिनेछ भने ५ करोडको गुणांकमा अधिकतम आव्हान रकमसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले यो निक्षेपको साँवा र ब्याज भुक्तानी माघ ९ गते गर्ने जनाएको छ।
बोलकबोल प्रक्रियामा सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई प्राथमिकता दिइनेछ।
हाल बैंकहरूमा लगानीयोग्य रकम बढी भई कर्जा प्रवाहको गति सुस्त हुँदा तरलता प्रणालीमा थुप्रिएको छ। यस्तो अवस्थामा, प्रणालीमा सन्तुलन कायम राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको हो।