प्रम ओलीकै घरबाट कमिशनको सेटिङः डा.भट्टराई

पोखरा । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाएका छन् । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दैै भट्टराईले ओली सरकारका सूचना तथा संचार मन्त्री एवम् सरकारका प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बारेमा ७० करोड कमिशनको डिलिङ गरेको दाबी गरे ।

कमिशन सेटिङको अडियो बाहिरिए पछि हाल राजीनामा दिएका प्रम ओलीका प्रिय गोकुल बास्कोटा ओलीकै घरमा बस्छन् भनेको सुनेको छु, तर मैले आफ्नै आँखाले भने देखेको छैन, भट्टराईको भनाई थियो ।

बाँस्कोटाको कमिशन सेटिङको अडियोको बारेमा प्रधानमन्त्रीलाई दुई महिना अघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिशनको खेलमा ओलीको संग्लनता भएको डा.भट्टराईले आशंका व्यक्त गरे । ‘बाँस्कोटा एक्लैले यो आँट गरेका छैनन, घटनामा प्रधानमन्त्री ओली चोखो छैनन्, चुकेकै छन् । घटनाको गहन अनुसन्धान जरुरी छ, भ्रष्टचार अन्त्य नगरेसम्म सुशासनको संभावना हुन्न,’ भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औंला ठड्याउने दुश्साहस गर्दा फागुन ८ गते कमिशन सेटिङको बास्कोटा प्रकरणले आफ्नै मुखमा थुकेको जस्तै भएको उनको भनाई थियो । ‘प्रधानमन्त्रीलाई ओलीलाई थाहा हुनुपर्ने हो आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ भन्ने,’ डा. भट्टराईले भने । प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेर सुशासन र समृद्धि नआउने उनले बताए ।

प्रतिक्रिया