सन्दीपको घातक बलिङमा नेपालको दोस्रो जित

ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्स चरणमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ।

 

अल एमिरेट क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जवाफी रूपमा १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमै १४२ रनमा अलआउट भयो।

 

नेपालका कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको महत्वपूर्ण पारी खेले। दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रन जोडे। अन्य खेलाडीले सानो योगदान दिए पनि नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो।

 

बलिङतर्फ सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै ३.५ ओभरमा १८ रन दिएर ५ विकेट झारे र म्यान अफ दि म्याच घोषित भए। नन्दन यादवले २ विकेट लिँदा दीपेन्द्रले १ विकेट लिए।

 

कतारका लागि इमाल लियानेजले ५६ र जुबेइर अलिले ५२ रन बनाए तर अन्य ब्याट्सम्यानले साथ नदिँदा टोली पराजित भयो।

 

यो जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोड्दै लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। ओमानसँग नेपालको अंक समान ६ भए पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ।

 

सुपर सिक्स अन्तर्गत नेपालले अब ओमानसँग भोलि राति ८ः४५ मा र सामोआसँग शुक्रबार अपराह्न ४ः१५ मा खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय