एजेन्सी । भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टमा रोकेको छ । सोमबार बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलमा रोकेको हो । अब्राहम कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् । दिल्ली एयरपोर्टमा रोकिएपछि प्रतिक्रिया दिँदै उनले एयरपोर्ट अधिकारीहरूले आफ्नो भिसा किन रद्द गरियो भने कारण समेत खुलाउन नचाहेको आरोप लगाएकी छिन् । सांसद अब्राहम निजी भ्रमणमा भारत आउँदै थिइन् ।
उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।