फागुन ५, काठमाडौं /पूर्वसभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएपछि उनीमाथि आरोप लगाएकी संसद सचिवालयकी महिला कर्मचारीले खुसी व्यक्त गरेकी छन्। काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएपछि छोटो प्रतिक्रिया दिँदै उनले महरा सर पहिले नै निर्दोष रहेको कुरा आफूले बताइसकेको उल्लेख गरिन्।
‘मैले असोज १५ गते नै भनिसकेकी थिएँ, महरा सर निर्दोष हुनुहुन्छ’, उनले भनिन्, ‘अहिले उहाँ छुट्नु भएको छ। उहाँले ममाथि त्यस्तो कुनै गैरकानुनी काम गर्नुभएको थिएन।’
महरा छुटेसँगै आफूलाई पत्रकारहरुले फोन गरेर सोधिरहेको उनले बताइन्। ‘मलाई यसबारेमा सोधिरहेका छन्, तर मैले पहिले नै यसबारे बोलिसकेकी छु’, उनले भनिन्, ‘अब यसबारे मैले धेरै बोल्नु आवश्यक छैन। उहाँ छुट्नु भयो, खुसी लागेको छ।’
गत असोज १२ गते तीनकुनेस्थित आफ्नै निवासमा महराले ब ला त्कार प्रयास गरेको आरोप उनले लगाएकी थिइन्। त्यसपछि महरा असोज १९ गते पक्राउ परेका थिए। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरा १३४ दिन डिल्ली बजार कारागारमा बसेर रिहा भएका छन्।