राजधानीको विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने कार्य आजबाट शुरु गरिने भएको छ । ३२ महिनाभित्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्रको तार भूमिगत गरिसक्ने योजना बनाइएको हो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट विद्युत वितरण तार भूमिगत गर्ने कामको उद्घाटन गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । निर्देशक घिसिङका अनुसार सोमबार बिहान ९ बजे महाराजगञ्ज क्षेत्रको प्रहरी तालिम केन्द्र नजिकैको तारलाई भूमिगत गरी शुभारम्भ गरिने भएको हो ।
विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भूमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र त्यसलाई पुर्नस्थापनासमेत गर्ने गरी समझदारी भई काम गर्न लागिएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई पहिलो चरणमा ५ देखि ७ किलोमिटरमा मात्रै काम गर्न अनुमति दिइएको छ ।
आगामी ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तर्गत तार भूमिगत गरिसक्ने योजना छ । दुर्घटनाको जोखिम न्यूनिकरण गर्न प्राधिकरणले विद्युत वितरण तारलाई भूमिगत गर्न लागेको हो ।
काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको बताइएको छ ।