काठमाडौँ – धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।
बुधबार बेलुका ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्कुटरको पछाडि बसेकी उनकी बहिनी शर्मिला सिलवालको पनि मृत्यु भएको छ । उनीहरु चितवन जाँदै थिए ।
शर्मिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट नायिकाका रुपमा प्रवेश गरेकी थिइन् । उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिगोलो’ लगायत चलचित्रमा अभिनय गरेकी छन् ।