आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्ग अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ । ३६ रनको झिनो लक्ष्य पाएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रनमा मात्रै जोडेको थियो ।
नेपालको लागि पूर्व कप्तान पारस खड्काले १२ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २० बनाए । दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्का प्रहार गर्दै १५ रन जोड्न सफल भए । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए ।
यसअघि अमेरिकालाई सस्तैमा समेट्नका लागि लेग स्पिनर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएका थिए । सन्दीपले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए भने सुशनले ३ ओभरमा ५ रन खर्चिदै ४ विकेट लिएका थिए ।
अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेन ओमरले भने चारवटै खेल जितेको छ । नेपाल ओमनसँग दुवै खेलमा पराजित भएको थियो ।