एकैपटक २ सय बढी विरामी भएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाभाइरसको त्रास

छिमेकी देश चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने त्रास फैलिएको छ ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङले जानकारी दिइन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।

उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् । सर्वसाधारणहरु ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नम्बर ३ साविक गुम्वा गाविस वडा नम्बर ८ गुम्वा वस्तिमा मिति माघ २७,देखि हाल विश्वमा फैलिरहेको नोवल कोरना भाइरसको लक्षणसँग मिल्ने रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका विरामीहरु देखा परेको हुँदा सो को परीक्षणका गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।’

अत्यन्त जरुरी पत्रको वोधार्थ समाजिक विकास मन्त्रालय वागमति प्रदेश हेटौडा, जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई लेखिएको छ । स्थानीय विरामी परेको खवर सुन्नासाथ उपलव्ध स्वास्थ्यकर्मी र औषधी पठाएपनि परीक्षण गर्ने पर्याप्त स्रोत साधन अभाव भएकाले समस्या भएको गाउँपालिकाले जनाएको छ ।

वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले धेरै मानिस एकैपटक विरामी भएपनि कोरोनाभाइरसको हो होइन भन्ने पुष्टि भैनसकेको जानकारी दिए ।

‘आज विशेषज्ञहरुको टोली घटनास्थल जाँदैछ । टोलीले परीक्षण गरेपछि मात्रै के हो भन्ने खुल्छ । तर केही मानिसमा सुधार आएकाले कोरोना नहुनपनि सक्छ भन्ने अनुमान पनि गरिएको छ’, मन्त्री नेपालले रातोपाटीसँग भने, ‘औषधीसहितको विशेषज्ञ टोलीले जाँच गरेपछिमात्रै सबै कुरा थाहा हुन्छ ।’

प्रतिक्रिया