भारतको झारखण्ड राज्यमा राँचीबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त भएको छ। चालक दलका दुई सदस्यसहित सातजना सवार रहेको विमान झारखण्डको चतरा जिल्लाको कसरिया पञ्चायत क्षेत्रमा दुर्घटना भएको हो।
राँची विमानस्थलका निर्देशकका अनुसार फेब्रुअरी २३ मा रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडको बीचक्राफ्ट सी–९० विमान राँची–दिल्ली सेक्टरमा मेडिकल इभ्याकुएसन उडानमा थियो। समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै जारी आधिकारिक विज्ञप्तिमा विमान सिमरियानजिकै दुर्घटनामा परेको उल्लेख गरिएको छ।
विमानले राँचीबाट साँझ ७ः११ बजे उडान भरेको थियो। साँझ ७ः३४ बजे कोलकातासँग राडार सम्पर्क टुटेको जनाइएको छ। त्यसबेला विमान वाराणसीबाट करिब १०० माइल दक्षिणपूर्वमा रहेको बताइएको छ।
उद्धार तथा अनुसन्धान कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे औपचारिक विवरण आउन बाँकी छ।