चीनमा फैलिएको र विश्वभर त्रास फैलाइरहेको नयाँ भाइरस कोरोना सङ्क्रमणबाट सोमवार मात्र हुबेइमा १०३ जनाको मृत्यु भएको छ। उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो।
यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । एकैदिन यतिधेरै मानिसको मृत्युपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।
मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्।तर यो संख्या आइतबारको तुलनामा भने २० प्रतिशतले कम भएको बताइएको छ । आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए ।
अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्। सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो। सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।