काठमाडौं । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् ।
सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।
एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पादैन थिइन् ।
आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपर्थ्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उनी बस्ने छाउगोठ भत्काए ।
त्यसपछि उनी महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सरिन् ।
‘म सधैँ यही कोठामा सुत्थेँ,’ घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उनले भनिन्, ‘सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।’
घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् ।
घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको खबर आजको गोरखापत्र दैनिकमा शान्ति लामा तथा शेरबहादुर सार्कीको बाइलाइनमा प्रकाशित छ ।