संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाइ कोरोना भाइरसको प्रकोपले प्रभाव पार्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भ्रमण वर्ष २०२० मा प्रभाव पर्ने बताएका हुन् । चीनबाट पर्यटक कम आउने भएकाले मन्त्रालयले पर्यटन मार्केटको खोजी सुरु भएको पनि उनले बताए ।
बैठकमा मन्त्री भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिनु पहिले त्यहाँबाट नेपालमा ५ लाख पर्यटक आउने अपेक्षा गरिएको र अहिले त्यसमा कमी हुने आँकलन भएको बताए । ‘कोरोना भाइरसको वैकल्पिक मार्केटहरूको खोजी भइरहेको छ । यसबारेमा सम्बन्धित सरोकारवाला निकायहरूसँग बस्यौँ । चीनबाट ५ लाख पर्यटक आउने अनुमान गरेका थियौँ ।
गएको वर्ष झन्डै २ लाख आएका थिए,’ मन्त्री भट्टराईले भने, ‘चीनको विकल्पमा कहाँबाट पर्यटक ल्याउन सकिन्छ भनेर विकल्प खोजीरहेका छौँ ।’