लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

काठमाडौं, २१ माघ । प्याजको मूल्य वृध्दिकाे मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकासिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाई छ ।

तर यता उपभोक्ताबादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढनु प्रमुख कारण कालाबजारी गर्नेको चलखेल रहेको बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन विगतदेखि कालो बजारी गर्न पल्किएकाहरुको कारण बजारभाउ आकासिएको बताउनुहुन्छ ।

केही समय अघि कुखुराको चल्ला मार्ने काम नियोजित रुपमा गरिएको भन्दै कालोबजारीका माफियाहरुलाई कारवाही नगरे सम्म यो चलिरहने उहाँको ठहर छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया