होली र निर्वाचन बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ — होली पर्व र आसन्न निर्वाचनको सार्वजनिक बिदाका दिन पनि सीमित बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। आइतबार जारी सूचनामार्फत राष्ट्र बैंकले बिदाका दिन अत्यावश्यक वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।

निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले बिदाका दिन पनि राजस्व संकलन, सरकारी भुक्तानी, नगद तथा चेकमार्फत हुने कारोबार र निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूको रकम दाखिला–भुक्तानीजस्ता सेवा उपलब्ध गराउनुपर्नेछ। आवश्यक कर्मचारी व्यवस्थापन गरी सीमित काउन्टरमार्फत सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

राष्ट्र बैंकले उक्त निर्णय निर्वाचन आयोगको अनुरोधका आधारमा गरिएको स्पष्ट पारेको छ। निर्वाचन अवधिमा वित्तीय गतिविधि सहज बनाउन र सरकारी राजस्व संकलनमा अवरोध नआओस् भन्ने उद्देश्यले बिदाका दिन पनि बैंकिङ सेवा खुला राख्न निर्देशन जारी गरिएको जनाइएको छ।

प्रतिक्रिया