११ महिनामा शेयर धितो कर्जा १.६२ खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो (मार्जिन) कर्जामा उल्लेखनीय विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले गरी कुल १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकको वित्तीय प्रतिवेदनअनुसार बजारमा तरलता सहज बन्दै जानु र नीतिगत लचकताका कारण शेयर धितो कर्जाको प्रवाह उल्लेखनीय रूपमा बढेको हो। कुल कर्जामध्ये ८५ प्रतिशतभन्दा बढी हिस्सा वाणिज्य बैंकहरूको रहेको छ।

वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्। यसमध्ये नबिल बैंक १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ कर्जासहित सबैभन्दा अगाडि रहेको छ। ग्लोबल आइएमई बैंक १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँसहित दोस्रो, कुमारी बैंक १० अर्ब ४४ करोड १२ लाख रुपैयाँसहित तेस्रो, प्राइम कमर्सियल बैंक ९ अर्ब ८५ करोड ४२ लाख रुपैयाँसहित चौथो तथा लक्ष्मी सनराइज बैंक ९ अर्ब ५० करोड ७२ लाख रुपैयाँसहित पाँचौं स्थानमा रहेका छन्।

विदेशी संयुक्त लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकले समीक्षा अवधिमा शेयर धितो कर्जा प्रवाह नगरेको देखिएको छ। नेपाल एसबीआई बैंकले भने सबैभन्दा कम ५२ करोड ७३ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ।

विकास बैंकहरूले समीक्षा अवधिमा कुल १९ अर्ब ५७ करोड १२ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा दिएका छन्। यस समूहमा मुक्तिनाथ विकास बैंक ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। गरिमा विकास बैंकले २ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २ अर्ब २९ करोड ८२ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ अर्ब १८ करोड १२ लाख रुपैयाँ तथा लुम्बिनी विकास बैंकले २ अर्ब १५ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

एक्सेल, मितेरी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर धितो कर्जा सीमित रहेको छ भने नारायणी, कर्णाली, कर्पोरेट र सालापा डेभलपमेन्ट बैंकले यस शीर्षकमा कुनै पनि कर्जा प्रवाह गरेका छैनन्।

फाइनान्स कम्पनीहरूले समीक्षा अवधिमा कुल ३ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्। यस समूहमा मञ्जुश्री फाइनान्स ६८ करोड ३१ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। श्री इन्भेष्टमेन्ट फाइनान्सले ४६ करोड ९७ लाख रुपैयाँ तथा आईसीएफसी फाइनान्सले ३७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।

मल्टी फाइनान्सले सबैभन्दा कम ६ लाख ५५ हजार रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ। जानकी फाइनान्स र क्लाइमेक्स मर्चेन्ट फाइनान्सले भने जेठ मसान्तसम्म यस शीर्षकमा कुनै पनि लगानी गरेका छैनन्।

राष्ट्र बैंकको तथ्यांकले बजारमा तरलता सहज बन्दै जाँदा शेयर धितो कर्जाप्रति बैंक तथा वित्तीय संस्थाहरूको आकर्षण बढेको देखाएको छ। विशेषगरी वाणिज्य बैंकहरूले यस क्षेत्रमा अग्रणी भूमिका खेलेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूको सहभागिता तुलनात्मक रूपमा सीमित भए पनि पूँजी बजारमा उनीहरूको योगदान उल्लेखनीय रहेको देखिन्छ।

प्रतिक्रिया