चीनमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउनु नपर्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।

adadad
कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताए ।

उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए । ‘फिर्ता बोलाउने तयारी छ । तर, अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन् । फिर्ता बोलाएपछि अमेरिका लगायतका देशले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेका छन् ।

हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ । आर्मीले आफ्नो ब्यारेकमा कति सम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ । फिर्ता बोलाएपछि उहाँहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने ।

स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए । उनका अनुसार चीनसँग जोडिएका नाकामा पनि निगरानी सुरु गरिएको छ । रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए ।

वुहानमा रहेका नेपाली विद्यार्थीले आफूहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दूतावासलाई आग्रह गरेका छन् । चीन लगायत विश्वका दर्जनभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया