आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीद सम्मानमा ‘शहीद दिवस’

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
कवि भुपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।

देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ ।

महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर
राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।

यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालिन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्यूदण्ड दिएको थियो ।

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो ।

यसैबिच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहिदको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले शहिदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

त्यसैगरी उपराष्ट्रपतिबाट नन्दबहादुर पुनले पनि शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनु भएको छ । शहिद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनु भयो ।

त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । देउवाले राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहिदको संझना गर्नुभएको छ ।

त्यस्तै, राजनीतिक दलका दलका नेताहरुले समेत शहिदहरुको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया