काठमाडौँ, १५ माघ । चीनले कोरोना भाइरस नियन्त्रण गर्न ४८ घण्टामानै १००० शैय्याको अस्पताल बनाएर विश्वलाई चकित तुल्याएको छ ।
पछिल्लो समय महामारीको रुप लिएको कोरोना भाइरस द्रुत रुपमा स्वासप्रस्वासबाट सर्ने भएपछि चीन सरकारले छुट्टै अस्पताल बनाएर संक्रमितको उपचार गर्ने लक्ष्य अनुरुप यो अस्पताल निर्माण गरेको हो ।
चीन सरकारले गत शुक्रबार ६ दिनमा अस्पताल भवन निर्माण गर्न निर्माण कम्पनीलाई जिम्मा दिएपनि निर्माण कम्पनीका कामदारको अथक मेहनतले दुई दिन भित्रनै काम सम्पन्न भएको छ । अस्पताल निर्माण सम्पन्न गर्न ५ सयजना कामदार अहोरात्र खटिएका थिए। तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरेपछि निर्माण टोलीलाई सरकारले धन्यवाद दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलका अनुसार उक्त अस्पताल भवन शनिबारदेखि जमीन खन्ने कार्य सुरु गरी सोमबारसम्ममा निर्माण सम्पन्न भएको र पानी, बिजुली तथा इन्टरनेटको समेत पूर्ण व्यवस्था गरिएको छ।
हुबेई प्रान्तको वाङ्जाउ जिल्लामा निर्मित यस अस्पतालले मंगलवारदेखि बिरामी उपचारको काम समेत सञ्चालनमा ल्याइसकेको छ । २ हजार चिकित्सकहरुले उपचार दिने भनिएको यस अस्पतालमा १५ सय बिरामीको उपचार एकसाथ हुनेछ।
चीनमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ भने संक्रमित लगभग ६ हजार पुगेका छन् ।