आज संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं — संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमार्फत सरकारको आगामी आर्थिक वर्ष (2082/83) को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट संसद्लाई सम्बोधन गर्ने व्यवस्थाअनुरूप नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकको सम्भावित कार्यसूची तय भइसकेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिउँसो २:४५ भित्र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरिसकेका छन्।

यसअघि सत्ता साझेदार दलहरूबीच अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ। नीति तथा कार्यक्रममा युवालाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप र व्यवसायिक योजनालाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। साथै, सरकारले खर्च विस्तार, सुशासन प्रवर्द्धन र जनआशा सम्बोधनमा जोड दिने बताइएको छ।

संघीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरिने तालिका तय गरिसकेको छ। त्यस्तै, वैशाख ३० गते प्रि–बजेट छलफलका रूपमा विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकतामाथि बहस सुरु हुनेछ। संविधान अनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया