तरलता सहजसँगै बैंकहरूले घटाए निक्षेप ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले वैशाख २०८३ का लागि निक्षेपको ब्याजदर पुनः घटाएका छन् । पछिल्लो तथ्यांकले चैत महिनाको तुलनामा व्यक्तिगत र संस्थागत दुवैतर्फ औसत ब्याजदरमा गिरावट आएको देखाएको छ ।

चैतमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४ प्रतिशतमा पुगेको छ । त्यस्तै, संस्थागत निक्षेपतर्फ ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशत कायम भएको छ । यसले बजारमा तरलता सहज बन्दै जाँदा बैंकहरूले लागत घटाउने रणनीति अपनाएको संकेत गरेको छ ।

ब्याजदर कटौती गर्ने बैंकहरूमध्ये हिमालयन बैंक अगाडि देखिएको छ, जसले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । एनआईसी एशिया बैंक ले व्यक्तिगत ४.७५ र संस्थागत ३.७५ प्रतिशत निर्धारण गरेको छ भने राष्ट्रिय वाणिज्य बैंक र सिटिजन्स बैंक ले पनि व्यक्तिगत निक्षेपमा उल्लेख्य कटौती गरेका छन् ।

यस्तै, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक ले पनि ब्याजदर घटाएका छन् । संस्थागत निक्षेपतर्फ भने नबिल बैंक ले सबैभन्दा धेरै कटौती गर्दै ३.०१ प्रतिशत कायम गरेको छ ।

तर केही बैंकहरूले भने आफ्नो दर यथावत राखेका छन् । एनएमबि बैंक ले ५ प्रतिशत व्यक्तिगत र ४ प्रतिशत संस्थागत ब्याजदरलाई निरन्तरता दिएको छ । त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक र प्राइम कमर्सियल बैंक ले चैतकै ब्याजदरलाई कायम राखेका छन् ।

यसबीच कृषि विकास बैंक ले भने संस्थागत निक्षेपतर्फ सानो वृद्धि गर्दै २.७८ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगततर्फ ४.१५ प्रतिशत दर यथावत राखेको छ ।

समग्रमा बैंकहरू ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने रणनीतिमा देखिएका छन् । वैशाखमा निक्षेपकर्ताले पाउने प्रतिफल केही घट्ने भए पनि यसले बैंकिङ प्रणालीमा ब्याजदर सन्तुलन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया