राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा

काठमाडौँ, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेल राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।

उनले राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा पनि लगभग दुई वर्षनै सल्लाहकारका रुपमा काम गरेका थिए । प्याकुरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरश: पालनाका लागि औपचारिक परिधिभन्दा बाहिर र काम गर्नका लागि राजीनामा दिएको बताएका छन्।

उनले सामाजिक न्याय र लोकतन्त्रका लागि समर्पित व्यक्तीका हैसियतले आफ्नो मूल कर्तब्यप्रति निष्ठावान हुँदै कानून सामु सबैको हैसियत कायम राख्न आफुले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले संवैधानिक अंगहरुमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्न सबै लाग्नुपर्ने पनि बताएका छन् ।

राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उज्यालो बनाउने पर्ने बताएका छन् । यसका लागि सत्तारुढ दल नेकपाले सबैभन्दा बढी योगदान गर्न सक्ने पनि प्याकुरेलले विज्ञप्तिमा जनाएका छन् ।

त्यस्तै उपनिर्वाचनको जनमतले प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको बताएका छन् ।

प्रतिक्रिया