उखु किसानले पुन: आन्दोलन गर्ने घोषणा गरेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवामा बुधबार पत्रकार सम्मेलन गरी सरकारले आफूहरुसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै किसानले आन्दोलनको घोषणा गरेका हुन् ।
पुस १८ गते सरकार र उखु किसान संघर्ष समितिबीच पाँच बुँदे सम्झौता भएको थियो । ७ गतेभित्र सबै किसानले उखु बिक्रिबापतको रकम भुक्तानी गर्ने सहमति भएपनि सम्झाैताअनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि किसान पुन: आन्दोलित भएका हुन् ।
उनीहरुले माघ १० गते कालोपट्टि बाँधेर काम गर्ने, ११ देखि १७ गतेसम्म किसान जागरण अभियान सञ्चालन गर्ने र १८ गते गोडैता बजारमा किसानको भेला गराइ काठमाडौं केन्द्रीत आन्दोलनको स्वरुप र मिति तय गरिने उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिनुभयो ।
सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड भुक्तानी गर्न बाँकी रहेको छ । सोमबारसम्म सर्लाहीमा रहेका महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले तीन करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रकम भुक्तानी गरेको छ ।
उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएका छन् । सरकारले उखु किसानलाई दिने भनिएकाे प्रतिक्विन्टल ६५ रुपैयाँ ५६ पैसा र अनुदानवापतको रकम एक अर्ब ३४ करोड पनि उपलब्ध नभएको किसानको गुनासो छ ।