काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् । सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने छोटो प्रतिकृया दिएका छन् । नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ ।