प्रदेश ५ कांग्रेस संसदीय दलका नेता बलदेव शर्माको निधन

प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस केनद्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको जानकारी दिएका छन् । फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएपछि विगत एक वर्षदेखि नेता पोखरेल सक्रिय राजनीतिभन्दा टाढा थिए ।

गत माघमा काठमाडौंस्थित हेम्स् अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा पोखरेलको फोक्सोमा क्यान्सर देखिएको थियो । नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर गरे पनि स्वदेशमै उपचार गर्नुपर्ने भन्दै उनी उपचारका लागि भारत जान मानेका थिएनन् ।

नेता पोखरेल प्रदेश ५ का जेष्ठ सांसद थिए । जेष्ठ सदस्य भएकोले उनले सभामुखकै हैसियतमा सांसदहरूलाई सपथ खुवाएका थिए । प्रदेश सरकारले केही सभापतिहरू र प्रतिपक्षी दलका नेतालाई उपलब्ध गराएको गाडी खरिदमा अनियमितता भएको आलोचनापछि पोखरेल गाडी फिर्ता गरेर संसद भवनबाट रिक्सा चढेर घर गएका थिए ।

प्रतिक्रिया