काठमाडौं – गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्याङ्क समावेश गरिएको हो।
नेप्सेका अनुसार, कुल सूचीकृत धितोपत्रमध्ये आईपीओको संख्या सबैभन्दा धेरै रहेको छ। गत वर्ष ५२ करोड ४ लाख ९६ हजारभन्दा बढी कित्ता आईपीओ सूचीकृत भएको हो। त्यसैगरी, २० करोड ७५ लाख १८ हजारभन्दा बढी कित्ता बोनस शेयर, १ करोड ८४ लाख ५८ हजारभन्दा बढी कित्ता ऋणपत्र, २१ करोड ९७ लाख ६७ हजारभन्दा बढी कित्ता हकप्रद शेयर, र ५३ करोड ३० लाख ४७ हजारभन्दा बढी म्युचुअल फण्डका इकाई सूचीकृत भएका छन्।
यो तथ्याङ्क अनुसार, गत वर्ष ऋणपत्रको संख्या अपेक्षाकृत कम देखिएको छ। वाणिज्य बैंकहरूले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्थाले अघिल्ला वर्षहरूमा ऋणपत्र जारी गर्ने क्रम बढी थियो। तर, गत वर्ष वाणिज्य बैंकहरूले बोनस शेयरलाई बढी प्राथमिकता दिँदा ऋणपत्र जारी गर्ने क्रममा कमी आएको हो।
साथै, अघिल्ला वर्षहरूको तुलनामा सार्वजनिक निष्कासन अनुमतिमा कमी आएपछि दोस्रो बजारमा धितोपत्रको आपूर्ति घटेको छ। कात्तिक महिनादेखि बजारमा आपूर्ति बढेको भए पनि पुस २० गतेपछि बोर्ड अध्यक्ष पद रित्त हुँदा सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा बाधा पुगेको छ, जसको असर दोस्रो बजारमा सूचीकृत धितोपत्रमा परेको छ।