• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • राजनीति

काठको बाकसमा दाजुभाइ, अन्तिम विदाइमा प्रवासी नेपाली भावविह्वल

पोर्चुगलको राजधानी लिस्बनस्थित फुनारियो क्यापोस साउजोसे अस्पताल । अस्पतालको एक कोठामा लस्करै राखिएका काठका बाकस । त्यहाँभित्र भर्भराउँदो अनुहार भएका एकै कोखका दुई दाजुभाइ । हेर्नेकाे मन नै काँप्ने याे दृश्य शब्दमा वर्णन गर्न कसरी सम्भव हाेला र !

निधारमा देखिएको चोट । ओढाइएको वस्त्रमाथि फूलको थुप्रो । कताकता मस्त निद्रामा सुतिरहेको जस्तै पनि लाग्ने । श्रद्धाञ्जलीका लागि एक थुंगा फूल लिएर पुगेकाहरु पनि घटनाबारे पटक्कै विश्वास गर्दैनन् । तर, काठको बाकसमा सुताइएका यी दाजुभाइ अब कहिल्यै नउठ्ने गरी सदाका लागि निदाएका छन् । मात्र अब उनीहरुलाई आफ्नै भूमि र परिवारमाझ पठाउनु छ- अश्र श्रद्धाञ्जलीका लागि ।

श्रद्धाञ्जलीका लागि भेला भएका प्रवासी नेपाली
उनीहरूकाे अन्तिम श्रद्धाञ्जलीमा गैह्र-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले आइतबार एक सभा आयाेजना गरेकाे थियाे ।

भावविह्वल नेपाली

अन्तिम विदाइका लागि अस्पताल परिसर पुगेका यहाँस्थित प्रवासी नेपालीहरुकाे आँखा आँसुले भरिएकाे थियाे । सबै नेपाली भावविह्वल बनेका थिए ।

‘हामी याे गतिले बिरानाे माटाेमा मर्नका लागि पैसा तिरेर आएका रहेछौं,’ सविनाले आँसु झार्दै भनिन्, ‘३० हजार नेपाली भएको पोर्चुगलमा ढिलागरी घटनाको जानकारी आयो । यो भन्दा नरमाइलो र दुखद् विषय के हुन सक्छ ?’

यता, धादिङ घर भएका चिजकुमार तामाङ पनि घटनाबारे बताउँदै गर्दा भावुक भए । उनी यस्ता घटनाप्रति आम नेपाली समुदाय चनाखो हुनुपर्नेमा जोड दिन्छन् ।

छालले उडायाे

एकै परिवारका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइबाको गत आइतबार माछा मार्ने क्रममा निधन भएको थियो । उनीहरूले पोर्चुगलमा व्यवसाय शुरु गरेका थिए । केही दिनअघि माछा मार्ने क्रममा पोर्चुगलको कास्काइसको ‘बोका डो इन्फर्नो’ क्षेत्रमा पुगेका दाजुभाइलाई समुन्द्रमा आएको छालले हुत्याएर बगाइलग्याे ।

मृतक दाजुभाइ
विगतमा धादिङ खनियाबास गाउँपालिका–१ (साविकको सत्यदेवि–७) र हाल बारा जिल्लाको सुन्दरबस्तीमा बसोबास गर्दै आएका वाइबा दाजुभाइको याे अप्रत्याशित निधनले पोर्चुगलका नेपाली समुदाय यतिखेर शोकमा छन् ।

पार्थिव शरिरमाथि अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल पुगेकी सविना मनाङथेन तामाङ अस्पतालको एक छेउमा बसेर बलिन्द्रधारा आँसु खसाल्दै मृतक दाजुहरुलाई सम्झिएर भक्कानिँदै थिइन् । उनले प्रवासमा आफन्तको निधनले स्तब्ध बनाएको बताइन् ।

माछा मार्ने क्रममा सामुन्द्रिक छालले बगाएर दुई दाजुभाइको निधन भएको जानकारीमा आएको मावलीतर्फका भाइ कुमार बहादुर तामाङले बताए ।

‘कमललाई छालले बगाएको र भाइ सुरजले दाइलाई बचाउन समुन्द्रमा हाम फालेको भन्ने जानकारी आएको छ । प्रत्यक्षदर्शी हामी नभएकोले घटनाको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन्,’ उनले भने, ‘हामीले पनि पोर्चुगलस्थित संचारमाध्यमबाट थाहा पाएका हौं । माछा मार्न गएको स्थान अन्यभन्दा अलि खतरा नै रहेछ ।’

पोर्चुगलका नागरिक पनि घटना भएको क्षेत्रलाई अलि खतराको रुपमा हेर्ने गर्दछन् ।

डेनमार्क हुँदै पाेर्चुगल

रोजगारीको सिलसिलामा युरोप छिरेका उनीहरु केही समय डेनमार्कमा बसेका थिए । डेनमार्क बसाइपछि गत मे महिनामा मात्रै पोर्चुगल आएका वाइबा दाजुभाइले कास्काइसमा एभरेष्ट करी हाउस सञ्चालनमा ल्याएको भाइ कुमार बताउँछन् ।

मृतकमध्ये कमलका चार र सुरजका तीन छोराछोरी छन् । उनीहरु अहिले काठमाडौंमा बसोबास गर्दै आइरहेका छन् ।

मृतक दाजुभाइको शवलाई नेपाल पठाउन तामाङ समुदाय, एनआरएनए पोर्चुगल र अन्य नेपाली समुदाय आर्थिक संकलनमा जुटेका छन् । मृतकको शवलाई नेपाल पठाउने र आर्थिक सहयोग संकलनको जिम्मा एनआरएनए पोर्चुगलले लिएको छ । स्रोतका अनुसार एक/दुई दिनभित्रै शव नेपाल पठाउने तयारी छ ।

आठ महिनाअघि मात्रै पोर्चुगल आएका वाइबा दाजुभाइको अस्थायी बसोबासका लागि सबै कागजी पक्रिया पूरा भइसकेको थियो ।

स्मरण रहोस्, पोर्चुगलमा २०१० यता विभिन्न कारणबाट ३२ नेपालीको ज्यान गएको तथ्यांक छ ।

प्रतिक्रिया