सभामुखमा अग्नि सापकोटा निश्चित

सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ । माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए । गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुरव्र्यवहारमा मुछिएपछि उनले राजीनामा दिएसँगै सो पद खाली भएको हो । सभामुखका लागि नेम्वाङ,सापकोटा, देव गुरुङ र पम्पा भुसाल लगायतको नाम चर्चामा थियो ।

प्रतिक्रिया