काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफू फेरि सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रा पुनः सुरु गरेको बताइन्।
उनले भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको यात्रा निरन्तरता दिने पवित्र उद्देश्यका साथ सदस्यता नवीकरण गरेकी हुँ। अब म फेरि एमाले परिवारको सदस्य भएकी छु र यसमा म गर्व गर्छु।”
विद्या भण्डारीले आफ्ना पति स्वर्गीय जननेता मदन भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई नेपालको मौलिक राजनीतिक सिद्धान्तका रूपमा वर्णन गर्दै यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताइन्। उनले आफू विद्यार्थी राजनीतिदेखि नै पार्टीमा आबद्ध रहेको र मदन भण्डारीको निधनपछि पार्टीले दिएको जिम्मेवारीलाई सधैं इमानदारीपूर्वक निभाएको उल्लेख गरिन्।
उनले जनताको सेवामा समर्पित भएर राष्ट्रपतिका रूपमा ७ वर्ष बिताएको र अब पुनः पार्टीभित्रबाट देशको समृद्धिका लागि काम गर्ने अठोट व्यक्त गरिन्। उनले भ्रष्टाचार, जातीय विभेद, अराजकता र असमानता अन्त्य नगरेसम्म नेपाल समृद्ध बन्न नसक्ने धारणा राखिन्।