रेशम चौधरी छुट्छन् ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।

बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए ।

‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ प्रचण्डको भनाइ छ । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।

‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन । त्यस्तै उनले रेशम चौधरीलाई सबभन्दा पहिला आफूले प्रधानमन्त्री हुँदा दिल्लीमा भेटेको स्मरण गरे ।

रेशम चौधरी छुट्छन्
अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् । उनले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे ।

छोटो सम्बोधन गरेका प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए ।

उनले सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै भने, ‘आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी छ ।’

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया