काठमाडौं । मण्डला थिएटरको प्रस्तुति रहेको नाटक ‘चन्द्रलाई कसले मार्यो?’ असार २५ गतेदेखि मण्डला थिएटर, अनामनगरमा मञ्चन सुरु गरिएको छ।
क्वियर समुदायको आत्म-अन्वेषणमा आधारित यो नाटकले फरक लैंगिक पहिचान भएका व्यक्तिको मानसिक संघर्ष, डिप्रेसन र आत्महत्याजस्ता संवेदनशील विषयलाई गहिरो रूपमा उजागर गरेको छ।
रंगकर्मी सन्दीप श्रेष्ठद्वारा परिकल्पना, लेखन र निर्देशन गरिएको यो नाटक LGBTQIA++ समुदायको पीडा, सामाजिक दबाब, र अस्तित्वका लागि उनीहरूले व्यहोर्नु परेको आन्तरिक द्वन्द्वमाथि केन्द्रित छ।
नाटकले बदलिँदो सम्बन्धको स्वरूप, फरक दृष्टिकोण भएका पात्रहरू, र ‘चन्द्र’ को आँखाबाट देखिएको संसारलाई दर्शकसामु प्रस्तुत गरेको छ। निर्देशक श्रेष्ठले लामो समयदेखि आफ्नै अस्तित्वसँग जुधिरहेका, समाजमा खुलेर अभिव्यक्त हुन नसक्ने र सामाजिक बुझाइको अभावमा पीडित भएका क्वियर व्यक्तिहरूको कथा सशक्त रूपमा प्रस्तुत गरेका छन्।
साउन १८ गतेसम्म मञ्चन हुने यस नाटकमा सन्दीप श्रेष्ठसहित भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईंको अभिनय रहेको छ।
नाटक सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ मञ्चन हुनेछ।