काठमाडौँ, २३ पुस । इरानले इराकमा रहेका अमेरिकाका दुई वटा हवाई शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरान र अमेरिका दुवैले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका छन् । इरानका सरकारी टिभीले सैनिक जर्नेल कासिम सुलेमानीको हत्याको प्रतिशोधमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सुलेमानी बग्दाद विमानस्थलमा हवाई आक्रमणमा मारिएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इब्रिल र अल असदको सैनिक शिविरमा आक्रमण भएको जनाएको छ । आक्रमणबाट भएको हताहतिको कुनै समाचार आएको छैन ।
अमेरिकी राष्ट्रपति कार्यालयले आक्रमणको बारेमा जानकार रहेको र राष्ट्रपति ट्रम्पले परिस्थितिको बारेमा आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारसँग परामर्श गरिरहेको जनाएको छ । इरानी सेनाले जर्नेल सुलेमानीको हत्याको प्रतिशोधमा शुक्रबार आक्रमण गरिएको जनाएको छ । इरानी सेनाले अमेरिका सैनिक शिविर रहेको सबै स्थानमा आक्रमण गर्ने चेतावनी दिएको छ ।