देशभर वर्षा : उच्च पहाडी र हिमाली भूभागमा हिमपात

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

सुदूरपश्चिमको जनजीवन कष्टकर

सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय