सीमा सुरक्षाका लागि सरकारले काम गरिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको बताएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडि बढेको जानकारी दिए । सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उनले बताए ।

‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओपी विस्तार गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार प्रकृया अगाडि बढेको छ,’ गृहमन्त्री थापाले भने, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा साटवता बिओपी थप्न प्रकृया अगाडि बढेको छ ।’

गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको बताए । त्यस क्षेत्रमा जान बाटो बनाउने प्रकृया सुरु भएको र मन्त्रिपरिषद्को बैठकले बजेट विनियोजन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेपछि यसको व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया