गुरुङ समुदायले तमुल्होसार मनाउँदै

गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन्। १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको छ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए। मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो। यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ।

प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मंगलबार गरिने जनाइएको छ। जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ। तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन्। जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ। पुस १५ गते अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।

यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्नुहुने जनाइएको छ।

‘‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदाय असन्तुष्ट छन्। केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइका छन्। रासस

प्रतिक्रिया