ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

काठमाडौं । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ ।

सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ ।

लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

विभागले सङ्घीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार गरी सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट पारित गराउने योजना बनाएको छ ।

सार्वजनिक सवारीसाधन चालकलाई लक्षित गरेर नयाँ प्रणाली ल्याउन लागिएको हो । दैनिकजसो सार्वजनिक सवारी दुर्घटना हुन थालेपछि विभागले व्यावहारिक परीक्षण प्रणाली अपनाउन थालेको हो ।

विभागका अनुसार सवारीसाधन दुर्घटनाको ८० प्रतिशत कारण चालकको लापरबाही देखिएको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया