विराटनगर, १० पुष । विराटनगरमा १० रुपैयामा खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु गरिएको यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।
सस्तो खानामा बासमती चामलको भात र तरकारी दिने गरिएको छ । प्याकिङमा लैजानेहरुले भने २० रुपैया तिर्नुपर्दछ । एक पटक ५ सय जनालाई खाना खुवाउदा करिब १५ हजार रुपैया खर्च लाग्ने गरेको छ ।
१० र २० रुपैया तिरेर खाना खानेहरुबाट करिब ५ हजार रुपैया संकलन हुने र बाँकी १० हजार रुपैया आपसमा चन्दा उठाएर अभियान सञ्चालन गरिएको संयोजक धाडेवाले बताउनुभयो ।
सस्तोमा खाना पाउन थालेपछि कम आयश्रोत हुनेहरुले कुरेर भएपनि मिठो खान पाएको बताएका छन् । यस्तो अभियानलाई राज्यले सहयोग गर्नुपर्ने उनीहरुको धारणा छ ।
बुधबारदेखि शुरु गरिएको यो अभियानमा धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले चन्दा संकलन गरेरै भएपनि यसलाई निरन्तरता दिने तयारी भइरहेको संयोजक धाडेवाले जानकारी दिनुभयो ।
उहाँले सस्तो खाना अभियानलाई गरिब र विपन्न सर्वसाधारण भएको कोशी अस्पताल, विराटनगर बसपार्क लगाएतका ठाँउहरुमा पनि विस्तार गर्दै लैजाने बताउनुभयो ।