नारायणीमा चल्यो नेपाली पानी जहाज

चितवन, ७ पुष । नारायणी नदीमा निर्माण गरिएको मिनी क्रुज सिप (मिनी पानी जहाज) को सफल परीक्षण गरिएको छ । आइतबार अपरान्ह करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’ को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म परीक्षण गरिएको थियो ।

मिनी पानीजहाज भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माण भईरहेको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको मिनी पानीजहाजको सफल परीक्षण गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताउनु भयो ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ ।

क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक विदेशी हुनेछन् । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना छ ।

क्रुजिङमा काभ्रेघाटदेखि देवघाट र देवघाटबाट गोलाघाटको यात्रा गराइने कम्पनीले जनाएको छ । यसको गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने क्रुज सिपको उद्घाटन भ्रमण बर्षको सुरुवातीमै हुने छ ।

प्रतिक्रिया