देशभर बदली र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरस्वरूप बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

गण्डकी प्रदेशका केही स्थानका साथै कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज बुधबार दिउँसो देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा सुदूरपश्चिमका हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया