एकैपटक ४ खोप लगाउँदा शिशुको ज्यानै गयाे

इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ ।

यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताए ।

साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको जिकिर गरे । ‘स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको तालिकाअनुसार नै खोप दिएका छन् । यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो,’ साम्बाले भने, ‘तर, भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो । अभिभावकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन् । बाहिर उपचारमा लैजानुभएछ । तसर्थ, खोपको कारण नै हो भन्न सकिँदैन ।’ यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया