महोत्तरीमा शीतलहरले चिसो बढेपछि विद्यालय बन्द

दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् । बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले आउने सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा (दाउरा) वितरण पनि थालेको छ । प्रथम चरणमा अत्यन्त गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिकस्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताउनुभयो । जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पु¥याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

जिल्लाका अन्य क्षेत्रमा पनि धमाधम मुडा (दाउरा) सल्काएर धुनी लगाइँदैछन् । जिल्लाको लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पु¥याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिनुभयो । विद्यालय बन्द गर्नेबारे भोलि शनिबार बिदा नै हुँदा मौसमको अवस्था हेरेर निर्णय गर्ने लोहारपट्टि नपाको तयारी छ ।

एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मङ्गलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन् । अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल घटेको छ । एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशु बस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ ।

प्रतिक्रिया