चीनबाट आउन थालेपछि सस्तियो प्याज

काठमाडौँ, २८ मङ्सिर । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।

गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भिœयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५÷५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपियाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने सङ्केत देखिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया