उपत्यका र पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमालमा हिमपात

काठमाडाैं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। आज दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ। पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ। यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ।

बिहीबार सबैभन्दा कम जोमसोमको तापक्रम २ डिग्रि सेल्सियस मापन गरिएको थियो भने जिरीको ६ दशमलव ८ डिग्री सेल्सियस, ताप्लेजुङको ६ डिग्री सेल्सियस, दाङको १० डिग्री सेल्सियस, जुम्लाको ३ दशमलव ९ डिग्री सेल्सीयस, डडेलधुराको ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। काठमाण्डौको न्यूनतम तापक्रम आज बिहान ९ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया