राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा माघ ९ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

राष्ट्रियसभाका १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ। फागुन २१ गते नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल सकिदैछ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।

यसैगरी, नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ। राजपाबाट वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान तथा सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ।

प्रतिक्रिया