काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ ।
बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो ।
त्यस्तै प्रधानमन्त्री ओली रजत जित्ने खेलाडीहरुलाई प्रतिब्यक्ति ६ लाख र कांश्य जित्ने खेलाडीहरुलाई प्रतिब्यक्ति तीन लाख दिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही पाँच लाख रुपैयाँ दिने जनाउनुभएको छ ।
पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने बताइएको छ । त्यसोत, प्रधानमन्त्री ओलीले मंगलबार दशरथ रंगशालामा भएको १३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने बताउनुभएको थियो ।
साथै उहाँले सबै विजेता खेलाडीहरुलाई बधाईका लागि बालुवाटार आउन आग्रहसमेत गर्नुभएको थियो । १३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो ।